
काठमाण्डौ ।माछापुच्छ्रे बैंकले बहराइनमा रहेका नेपाली समुदायको आर्थिक सुरक्षा र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली दूतावाससँग मिलेर एक महत्त्वपूर्ण सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रमको प्रमुख उद्देश्य बहराइनमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कानूनी र सुरक्षित बैंकिङ च्यानलमार्फत नेपालमा रेमिट्यान्स पठाउने फाइदाबारे जानकारी दिनु हो।
बैंकले नेपाली दूतावाससँगको सहकार्यमा बहराइनको नेपाली दूतावासमा डिजिटल डिस्प्ले राखेको छ, जसमा रेमिट्यान्सको सुरक्षित र विधिसम्मत प्रक्रिया र यसको लाभका विषयमा जानकारी दिइएको छ। यसमार्फत, बहराइनमा रहेका नेपाली नागरिकलाई बैंकिङ सेवाहरूको बारेमा सचेत गराउने प्रयास गरिएको छ, जसले गर्दा उनीहरूलाई नेपालमा आफ्ना परिवारलाई पठाउने रेमिट्यान्सको प्रक्रिया अझ सरल र सुरक्षित बनोस।
माछापुच्छ्रे बैंकले बहराइनमा रहेका सबै नेपाली नागरिकलाई भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। बैंकले यस प्रकारका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै, नेपाली समुदायको आर्थिक उत्थानमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यस पहलबाट बहराइनमा रहेका नेपाली नागरिकलाई डिजिटल बैंकिङ सेवाहरूको महत्त्व र सुरक्षित रेमिट्यान्स प्रणालीको फाइदाबारे जानकारी पुग्ने विश्वास गरिएको छ।
माछापुच्छ्रे बैंकको यस कदमले बहराइनस्थित नेपाली समुदायमा अधिकतम जागरूकता र वित्तीय सुरक्षाको अवस्था सृजना गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे