
काठमाडौँ , ७ कात्तिक । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको बैठक बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छ। बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हितका विषयमा छलफल गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे सिंहदरबारमा सरकारको उपलब्धिबारे सम्बोधन गर्ने जानकारी दिएका छन्।
गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेसमेत पक्राउ परेको जानकारी दिए। उनले अदालत र सरकारलाई दबाब दिने विरोध प्रदर्शनलाई उचित नमान्ने बताउँदै सत्ताधारी दलहरूले न्यायिक छानबिनको पक्षमा वक्तव्य जारी गर्ने सहमति जनाएका छन्।
बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा एकता र दृढता आवश्यक रहेको बताउँदै लोकतान्त्रिक पद्धति र मूल्यप्रति प्रतिबद्धता व्यक्त गरे। उनले भने, हामी लोकतन्त्रका लागि लडेका हौँ र यसमा कुनै सम्झौता हुँदैन। आगामी योजनाबारे कात्तिक ९ गते साझा धारणा सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ। बैठकमा विभिन्न दलका प्रमुख व्यक्तिहरू उपस्थित थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे