
काठमाडौँ , ८ असोज । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् ।
असंलग्न राष्ट्रहरुको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्नुहुँदै मन्त्री डा। राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । उनले नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी हुन् । गत अक्टोबरमा ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो। आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो। सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको परराष्ट्रमन्त्रीले बताइन्।
उनले भनिन् “मलाई लाग्छ दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरिरहेको छ ।”
मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल असंलग्न आन्दोलनको प्रतिबद्ध सदस्य भएकाले सबै देशसँग शान्ति, मैत्री र सहअस्तित्वका आधारमा सम्बन्ध विस्तार गर्न चाहेको मन्त्री राणले बताइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे