
काठमाडौं, २०८१ असोज १ – आज विश्वकर्मा पूजा सम्पन्न हुँदैछ, जस अन्तर्गत मेसिनरी, पाटपूर्जा र प्राविधिक सामाग्रीको विशेष पूजाआजा गरिँदै छ। कन्याको संक्रान्तिका दिन मनाइने यो पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजा र अर्चना गरिनुका साथै भजनकृतन र नाचगानको आयोजनासमेत गरिएको छ।
नेपालमा असोज १ गतेलाई भगवान विश्वकर्माको जन्म दिनको रूपमा मानिने विश्वास छ। यस पर्वलाई विशेष सम्मानका साथ मनाउने प्रचलन नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत छ। मजदुर, कलाकार, औद्योगिक घराना र व्यापारीहरुले यस पर्वलाई उत्तिकै महत्व दिँदै अधिकांश कलकारखाना बन्द गरेर हर्षोल्लासका साथ विश्वकर्माको पूजा गर्दैछन्।
धार्मिक मान्यता अनुसार, भगवान महादेवबाट सृष्टिको सृजनाको जिम्मेवारी प्राप्त गर्नका लागि ब्रह्माले आफ्नो वंशज देव शिल्पी विश्वकर्मालाई आदेश दिएका थिए। हिन्दू धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वका पहिलो इन्जिनियर र वास्तुकारको रूपमा सम्मान गर्छन्। शास्त्रमा उल्लेख छ कि उनले पाताल, मध्यलोक र स्वर्गलोक तीनै लोकको निर्माण गरेका थिए।
सत्य युगमा उनले स्वर्गलोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति निर्माण गरेको विश्वास गरिएको छ।
आजको दिन, भक्तजनहरुले विशेष पूजाआजा गर्दै भगवान विश्वकर्माको योगदानलाई सम्मान गर्दैछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे