
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराइरहेका छन्। विशेष समय सञ्चालन भइरहेका बेला सदस्यहरूको धारणा प्रस्तुत गर्ने क्रम जारी रहेको छ भने संसद्ले आज चार महत्त्वपूर्ण विधेयक पारित गर्ने कार्यसूची अघि बढाएको छ।
संसद् सचिवालयको इन्टरनेट सेवा प्राविधिक समस्याका कारण प्रभावित भएपछि बैठकको प्रत्यक्ष प्रसारण केही समय अवरुद्ध भएको छ। सचिवालयका सहसचिव दशरथ धमलाले मर्मत कार्य जारी रहेकाले छिट्टै प्रत्यक्ष प्रसारण पुनः सञ्चालन हुने जानकारी दिएका छन्।
बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा संसद्लाई जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछन् भने अन्त्यमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलको प्रस्ताव राख्नेछन्। छलफलपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने र विधेयक पारित गर्ने प्रस्ताव पनि बैठकमा पेश गरिनेछ।
त्यसैगरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल अघि बढाउनेछिन्। विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरी पारितका लागि प्रस्ताव राख्ने कार्यसूची तय गरिएको छ।
बैठकको अन्तिम चरणमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक पारितका लागि प्रस्ताव पेश गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे