
एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ का थप तीन खेल सम्पन्न हुँदा इङ्ग्ल्यान्ड, बेल्जियम र अमेरिका अन्तिम १६ मा प्रवेश गरेका छन्। इङ्ग्ल्यान्ड र बेल्जियमले पछाडि परेको अवस्था उल्टाउँदै रोमाञ्चक जित निकाले भने अमेरिकाले बोस्निया–हर्जगोभिनामाथि सहज जित दर्ता गर्दै नकआउट यात्रा अघि बढाएको हो।
अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो। पहिलो हाफमा खेलमाथि पूर्ण नियन्त्रण कायम गरेको अमेरिकाका लागि फोलारिन बालोगुनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा बालोगुन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि १० खेलाडीमा सीमित अमेरिकाले खेलमाथिको नियन्त्रण गुमाएन। खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानले प्रत्यक्ष फ्रिकिकमार्फत गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे। अब अमेरिकाले अन्तिम १६ मा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।
अर्को रोमाञ्चक खेलमा बेल्जियमले दुई गोलले पछाडि परेको अवस्था उल्टाउँदै अतिरिक्त समयमा सेनेगललाई ३–२ ले पराजित गर्यो। खेलको २४औँ मिनेटमा हाबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुमै इस्माइला सारले अर्को गोल थप्दै बेल्जियममाथि दबाब बढाएका थिए।
खेलको अन्त्यतिर अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले ८६औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए। त्यसको तीन मिनेटपछि युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्तिम क्षणमा भीएआर समीक्षा पछि प्राप्त पेनाल्टीलाई टिलेमान्सले सदुपयोग गर्दै बेल्जियमलाई अविश्वसनीय पुनरागमनसहित अन्तिम १६ मा पुर्याए। अब बेल्जियमले क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाको सामना गर्नेछ।
दिनको अर्को खेलमा इङ्ग्ल्यान्डले पनि पुनरागमन गर्दै डिआर कंगोलाई २–१ ले हरायो। खेलको सातौँ मिनेटमै ब्रायन सिपेङ्गाले गोल गर्दै डिआर कंगोलाई अग्रता दिलाएका थिए। त्यसपछि गोलरक्षक लियोनेल एमपासीको उत्कृष्ट प्रदर्शनका कारण इङ्ग्ल्यान्ड लामो समयसम्म बराबरी गोल गर्न असफल रह्यो।
तर कप्तान ह्यारी केन निर्णायक बने। उनले ७५औँ मिनेटमा एन्थोनी गोर्डनको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि ८६औँ मिनेटमा व्यक्तिगत कौशल प्रदर्शन गर्दै शक्तिशाली प्रहारमार्फत दोस्रो गोल गरेपछि इङ्ग्ल्यान्डले २–१ को रोमाञ्चक जित निकाल्यो।
यस नतिजासँगै इङ्ग्ल्यान्डले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। अमेरिका–बेल्जियम तथा इङ्ग्ल्यान्ड–मेक्सिकोबीचका भेट विश्वकपको नकआउट चरणका थप आकर्षक प्रतिस्पर्धाका रूपमा हेरिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे