
कञ्चनपुर । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयका आर्थिक रूपमा विपन्न विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको महेन्द्रनगर शाखामार्फत आयोजित कार्यक्रममा शाखा प्रमुख कृष्ण सिंह भाटले बेदकोट–८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयका गरिब तथा विपन्न विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। बैंकका अनुसार विद्यार्थीको पठनपाठनलाई सहज बनाउन तथा शैक्षिक वातावरण सुदृढ गर्न उक्त सहयोग प्रदान गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर पृष्ठभूमिका भएकाले बैंकको सहयोगले उनीहरूको अध्ययनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वमार्फत शिक्षा क्षेत्रमा हुने यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
बैंकका महेन्द्रनगर शाखा प्रमुख भाटले शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै शैक्षिक सामग्री वितरणले विद्यार्थीको सिकाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि स्थानीय सरोकारवालासँग सहकार्य गर्दै यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा बैंकका कर्मचारी, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे