
काठमाडौँ, भदौ २७ । हिन्दु नेपालीहरुको महान पर्व दशैं आउन एक महिना बाँकी रहँदै यात्रुहरुले गन्तव्यसम्म जानको अग्रिम टिकट काट्न थालेका छन् । चाडपर्वको बेला भाडा महंगो हुँदै जाने र कालो बजारी हुने डरले यात्रुहरु अग्रिम बुकिङ थालेका हुन् ।
दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ । एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका छन् ।
वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ ।
त्यस्तै, दशैं, तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो हप्तादेखि खुला गर्ने यातायात व्यवसायीहरुको तयारी छ । दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ ।
यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन् । बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे