
काठमाडौं, भदौ २०-सन् २०२४ को पहिलो आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार, जनवरीदेखि अगस्त महिनासम्म कुल सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
अगस्त महिनामा विदेशी पर्यटकको आगमन ८ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ। सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन्, जुन गत वर्षको अगस्तको तुलनामा ५ हजार पाँच सय ६६ बढी हो। २०२३ को अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक नेपाल आएका थिए।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार, पछिल्ला दिनमा विदेशी पर्यटकहरूको आवागमनमा उल्लेखनीय वृद्धि भएको छ। छिमेकी मुलुक भारत र चीनमा लक्षित पर्यटन प्रवर्धनात्मक कार्यक्रमहरूको प्राथमिकतासाथ अगाडि बढाइरहेकोले आगामी दिनमा अन्य मुलुकबाट पनि उल्लेख्य संख्यामा पर्यटक आउने अपेक्षा गरिएको छ।
अगस्त महिनामा भारतबाट २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१, र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन्।
पर्यटक वृद्धि सम्बोधन गर्न सरकारले सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८५ पर्यटक भित्र्याएको थियो। चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५)’ र नेपाल भ्रमण दशक कार्यान्वयनमा ल्याएर यो लक्ष्य प्राप्त गर्न सक्रिय रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे