
काठमाडौँ, १० फागुन ।बालश्रम अन्त्य गर्ने लक्ष्य राखेको ग्लोबल प्यानलले काठमाडौंमा भएको विश्व सामाजिक मञ्च २०२४ को अवसरमा छलफल कार्यक्रम आयोजना गरेको थियो, जहाँ उनीहरूले विश्वव्यापी बालश्रमबाट उत्पन्न जटिल चुनौतीहरूलाई सम्बोधन गर्न तत्काल कदम चाल्न आह्वान गरेका थिए।
कार्यक्रममा मानवअधिकार अभियन्ता मिलन धरेलले बालश्रमरहित संसारको परिकल्पना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै विश्वभर १६ करोड बाल श्रमिकको अस्तित्वले गरिबी र जनचेतनाको अभाव मात्रै कारण नभएको बताउनुभयो ।
अर्का अधिकारकर्मी मणिराम आचार्यले नेपालमा बालश्रमलाई सामाजिक रूपमा स्वीकृत भएको बताउँदै यसको रोकथामका लागि प्रभावकारी नीति लागू गर्नुपर्नेमा जोड दिनुभयो । ट्रेड युनियनकी स्मृतिमालाले वयस्क श्रमिकको सहभागिता नहुँदा बालश्रम बढ्दै गएको बताउँदै मर्यादित रोजगारीमार्फत यसको रोकथाम गर्नुपर्नेमा जोड दिइन् । अधिकारकर्मी रञ्जना शर्माले बालश्रम एक क्षेत्रबाट अर्को क्षेत्रमा सर्दै जाँदा लुकेर बसेको कुरा प्रकाश पारिन् ।
कार्यक्रममा नेपालमा बालश्रमको वर्तमान अवस्थाको बारेमा पनि प्रस्तुति रहेको थियो । ग्लोबल प्यानल कार्यक्रमको उद्देश्य विश्वव्यापी बाल श्रमका प्रकारहरू पहिचान गर्ने, वर्तमान अभ्यासहरूको मूल्याङ्कन गर्ने र यस क्षेत्रमा भविष्यमा हुने सहकार्यहरू अन्वेषण गर्ने हो।
कार्यक्रममा मानवअधिकारकर्मी, सरोकारवाला, नागरिक समाजका सदस्य, विदेशी संघसंस्था लगायत २ सय भन्दा बढी सहभागी थिए । नेपाल गुडवाइभ फाउन्डेसनले श्रम मन्त्रालयसँगको सहकार्यमा बालश्रम, जबरजस्ती श्रम र मानव बेचबिखनका क्षेत्रमा गरिएका पहल र कार्यक्रमका आधारमा विश्वव्यापी प्रतिवेदन तयार गर्नेछ ।
ग्लोबल प्यानलले बाल श्रमका चुनौतिहरूलाई सम्बोधन गर्न, बालबालिकाको अधिकारको रक्षा गर्न र शोषण रोक्न तत्काल र बलियो प्रयासको आवश्यकतामा जोड दियो। छलफलपछि ग्लोबल प्यानलले ८ बुँदे माग राखेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे