
काठमाडौँ, ८ बैशाख । सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर तीन दिनभित्र तत्काल उठाउन भनेको हो ।
काम विशेषले हजारौं नागरिक र सेवाग्राही दिनहुँ पुग्ने सिंहदरबार क्षेत्र लगायतका ठाउँको फोहोर नउठाएर वातावरण दिनहुँ प्रदूषित भएको र आमजनतालाई प्रत्यक्ष असर गरिरहेको देखिएकाले अब कत्ति पनि ढिलाइ नगरी फोहोर उठाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।
आदेशमा भनिएको छ– ‘स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने नागरिकको हक अमूल्य जीवनसँग जोडिएको छ । नागरिकको अमूल्य जीवनसँग प्रत्यक्ष जोडिने हुँदा वातावरणको विषय अत्यन्त संवेदनशील मानिन्छ । अनुकूलतामा मात्र होइन, जस्तो सुकै प्रतिकूल परिस्तितिमा पनि स्वच्छ र स्वस्थ वातावरण कायम गर्न राज्य, सरकार, संविधान कानुनबमोजिमका स्थापित सम्पूर्ण निकाय, संस्था र सरोकारवालाहरू लगायत नागरिकहरू को समेत सामूहिक र अथक प्रयत्न हुनुपर्छ ।’
त्यस्तै, फोहोर मैला व्यवस्थापन ऐन, २०६८ ले फोहोर मैलाको प्रबन्ध गर्ने, अन्तिम विसर्जन गर्ने, व्यवस्थापन गर्ने गराउने स्तानित तहलाई दिएको भन्दै, फोहोर उठाउन र विसर्जन गर्नबाट पन्छिन नहुने आदेशमा बताइएको छ । आदेशमा फोहोर व्यवस्थापनमा नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद्को कार्यलयलाई आवश्यक समन्वय गर्नसमेत ध्यानाकर्षण गरिएको छ ।
‘संवैधानिक र कानुनी व्यवस्थाअनुसार निवेदकले उल्लेख गरेका क्षेत्रहरू (सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास) को फोहोर संकलन गरी विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरको देखिन आयो,’ आदेशमा भनिएको छ, ‘उक्त स्थानहरूको फोहोर यो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र संकलन गरी विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा यो अन्तरिम आदेश जारी गरिदिएको छ।’
अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौँ महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका थिए ।
महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे