
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका छन्। भेटपछि प्रधानमन्त्री मोदीले नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन भारत तयार रहेको बताएका छन्।
भेटवार्ताका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धका विविध पक्षमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै साझा समृद्धि र विकासका लागि नजिकबाट सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।
मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदारका रूपमा लिइएको उल्लेख गरेका छन्। उनले नयाँ सरकारसँग मिलेर नेपाल–भारत सम्बन्धलाई थप मजबुत, बहुआयामिक र परिणाममुखी बनाउन भारत प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन्।
भेटका क्रममा द्विपक्षीय सहकार्य, पर्यटन, व्यापार, लगानी, पूर्वाधार विकास तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा समेत विचार आदान–प्रदान भएको बताइएको छ। साथै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री मोदीको उक्त अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देशका रूपमा हेरिएको छ। राजनीतिक तहमा भएको यो संवादले आगामी दिनमा दुई देशबीचको सहकार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे