
काठमाडौं । नेपाल टेलिकमले उपग्रह प्रविधिमा आधारित प्रणाली प्रयोग गर्दै देशका दुर्गम तथा विकट बस्तीहरूमा दूरसञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ। कम्पनीले जीएसएम मोबाइल, टेलिफोन तथा डाटा सेवा उपलब्ध गराउन भीस्याट टेलिसेन्टर तथा उपग्रह प्रविधिमा आधारित संरचना जडान गरी सेवा प्रवाह गर्दै आएको छ। चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो क्षेत्रमा पर्ने कुगाउँ र निजाल, दोलखाको ना–गाउँ (च्छो–रोल्पा पदमार्ग) तथा रसुवाको चन्दनबारी (गोसाईंकुण्ड पदमार्ग) लगायत चार स्थानमा यस्तो सेवा थप विस्तार गरिएको हो।
हाल नेपाल टेलिकमले देशका विभिन्न ३८ स्थानमा उपग्रह प्रविधिमार्फत मोबाइल सेवा उपलब्ध गराउँदै आएको छ। यीमध्ये सबैभन्दा बढी १४ वटा केन्द्र डोल्पा जिल्लामा रहेका छन् भने हुम्ला र मुगुमा पाँच–पाँच स्थानमा सेवा विस्तार गरिएको छ। साथै मनाङ, दोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्ला जिल्लाका विभिन्न विकट क्षेत्रमा पनि सेवा सञ्चालनमा रहेको जनाइएको छ।
कम्पनीका अनुसार शहरी तथा सुगम क्षेत्रमात्र नभई अत्यन्त न्यून जनसंख्या भएका दुर्गम बस्तीहरूमा समेत दूरसञ्चार पहुँच पुर्याउन भीस्याट प्रविधिको प्रयोग गरिएको हो। उपकरण तथा सामग्री ढुवानीका लागि कतिपय स्थानमा हेलिकप्टरसमेत प्रयोग गरी सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ। यस्ता क्षेत्रमा गरिएको लगानीबाट प्रत्यक्ष व्यावसायिक लाभ नआए पनि राष्ट्रिय सञ्चार पहुँच विस्तार गर्ने उद्देश्यले सेवा प्रदान गरिएको स्पष्ट गरिएको छ।
नेपाल टेलिकमले भविष्यमा यी सेवा केन्द्रहरूलाई अन्य आधुनिक प्रविधिमार्फत स्तरोन्नति गर्ने योजना पनि अघि सारेको छ। कम्पनीद्वारा सञ्चालनमा रहेको ब्याकबोन प्रसारण परियोजना तथा अप्टिकल फाइबर विस्तार कार्यक्रममार्फत देशभर उच्च क्षमता, सुरक्षित र भरपर्दो डाटा सेवा सुनिश्चित गर्ने कार्य भइरहेको छ। यस अन्तर्गत विभिन्न स्थानमा फाइबर विस्तार, लिंक क्षमतावृद्धि, वैकल्पिक संरचना निर्माण तथा उपकरण आधुनिकीकरणका कार्यहरू चरणबद्ध रूपमा सञ्चालन भइरहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे