
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले विशेष सूचना जारी गर्दै नदी किनार तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुमवासी बस्तीलाई आज साँझ ७ बजेसम्म अनिवार्य रूपमा खाली गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा तोकिएको समयभित्र बस्ती खाली नगरे संयुक्त रूपमा कारबाही गरी संरचना भत्काइने चेतावनी दिइएको छ ।
सूचनामा वर्षौँदेखि सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउन आग्रह गरिएको छ । यस्ता संरचनाले नदीको बहाव, सार्वजनिक आवागमन तथा सहरी पूर्वाधार विकासमा प्रतिकूल असर परेको उल्लेख गर्दै जोखिमपूर्ण बसोबास अन्त्य गर्न कदम चालिएको प्रशासनको भनाइ छ । तोकिएको समयपछि पनि अटेर गरेमा स्थानीय प्रशासन, प्रहरी तथा काठमाडौं महानगरपालिका को संयुक्त टोलीले संरचना हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवारी स्वयं बसोबासीले वहन गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रशासनले बस्ती खाली गर्ने क्रममा घरभित्रका सरसामान, पशुपक्षी तथा अन्य सामग्री सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ । विशेषगरी अपाङ्ग, बालबालिका, गर्भवती, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ । आवश्यक परेमा प्रहरी निकायबाट सहयोग लिन सकिने जनाइएको छ ।
सूचनाअनुसार भोलि बिहान ६ बजेदेखि अतिक्रमित क्षेत्रमा रहेका घरटहरा हटाउने कार्य सुरु गरिनेछ । उक्त कार्यमा अवरोध पुर्याउनेलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । साथै विस्थापित परिवारलाई सरकारले तोकेको स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिने र वास्तविक भूमिहीनको पहिचान गरी आगामी दिनमा स्थायी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे