
काठमाडौँ । सरकारले अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका बेला सांसद महावीर पुनले भने सरकारको पक्षमा बोलेका छन्। स्वतन्त्र रूपमा निर्वाचित उनले सरकारलाई काम गर्न दिनुपर्ने र अनावश्यक विवाद नगर्न आग्रह गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेख्दै, “जरुरी परे अध्यादेश ल्याएरै भए पनि काम अगाडि बढाउनुपर्छ,” भनेका छन्। उनले आफैंले विगतमा काम गर्न खोज्दा कानुन र प्रक्रिया देखाएर धेरै पटक रोकिएको अनुभव सुनाएका छन्।
पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनका अनुसार जनताको हितमा काम गर्न खोज्दा ऐन–कानुनको अभाव देखाएर कर्मचारीहरूले काम अघि बढ्न दिएका थिएनन्। उनले जेनजी आन्दोलनपछि मन्त्री हुँदा ल्याउन खोजेका तीन वटा अध्यादेश पनि सफल हुन नसकेको बताएका छन्।
उनले यस्ता अवरोधका कारण विकास र सुधारका काम रोकिने भएकाले अहिले सरकारले अध्यादेशमार्फत काम गर्न खोजेको बुझ्नुपर्ने बताएका छन्। साथै, आफूले यही समस्या देखेर नै चुनाव लडेर संसद्मा पुगेको पनि उनले उल्लेख गरेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे