
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा विद्यालयका दुई कर्मचारी पक्राउ परेका छन्। करोडौँ रुपैयाँ बराबरको आर्थिक हिनामिनाको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा विद्यालयकी लेखा प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ र कर्मचारी लीला लामा रहेका छन्। दुवैलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धानका लागि आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिनेछ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बल मुख्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको आशंका व्यक्त गर्दै आवश्यक कानुनी कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई औपचारिक रूपमा पत्राचार गरेको थियो। सोही पत्रका आधारमा प्रहरी टोलीले अनुसन्धान सुरु गर्दै दुवै जनालाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानको प्रारम्भिक चरणमा विद्यालयको आधिकारिक खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत बैंक खातामा स्थानान्तरण गरी करोडौँ रुपैयाँ बराबरको रकम अनियमित रूपमा प्रयोग गरिएको आशंकामा छानबिन केन्द्रित गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट लेखा प्रमुख कल्पना गुरुङको भूमिका मुख्य रहेको देखिएको छ। यसअघि सशस्त्र प्रहरी बल मुख्यालयले आन्तरिक छानबिन सञ्चालन गरेको थियो। उक्त छानबिनबाट आर्थिक अनियमिततामा संलग्नता देखिएको निष्कर्ष निकालेपछि थप कानुनी अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष सिफारिस गरिएको बताइएको छ।
प्रहरीले घटनासम्बन्धी वित्तीय कारोबार, बैंक विवरण तथा अन्य कागजातको परीक्षण गर्दै आर्थिक हिनामिनाको वास्तविक परिमाण र सम्भावित अन्य संलग्न व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे