
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनबारे प्रतिक्रिया दिएका छन्। उनले पुरानो संसदीय राजनीतिक दृष्टिकोणबाट हेर्दा यो अवधि ठूलो उपलब्धि देखिने खालको नभए पनि सरकारको प्रयासलाई सकारात्मक रूपमा लिन सकिने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले विभिन्न व्यक्तिहरूले आफ्नै सोच र दृष्टिकोणअनुसार सरकारको मूल्याङ्कन गर्ने बताएका छन्।
भट्टराईका अनुसार, पुरानो राजनीतिक प्रणालीको आधारमा हेर्दा यो १०० दिन खासै उपलब्धिमूलक नलाग्न सक्छ र केही पुराना शैलीहरू भत्किन थालेको देख्दा केहीले चिन्ता पनि व्यक्त गर्न सक्छन्। तर, नयाँ पुस्ता र परिवर्तनको दृष्टिले हेर्दा भने यो अवधि पुरानो शासन शैली परिवर्तन गर्ने प्रयासको सुरुवातका रूपमा बुझ्न सकिन्छ। उनले सरकारलाई केही समय ‘शंकाको लाभ’ दिनुपर्ने सुझाव पनि दिएका छन्।
साथै, देशको जटिल भूराजनीतिक अवस्था, कमजोर अर्थतन्त्र र सामाजिक परिवर्तनका चुनौतीलाई ध्यानमा राख्दा यो समय सिकाइको चरण भएको उनको भनाइ छ। उनले आगामी दिनमा अझ गम्भीरता र मेहनतका साथ अघि बढ्नुपर्ने सुझाव दिँदै सरकारलाई सुशासन र समृद्धिको दिशामा सफलताको शुभकामना दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे