
काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसा मार्फत रोजगारीका लागि जान प्रतीक्षारत नेपाली सीपयुक्त श्रमिकका लागि सरकारले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गर्दै रोजगार प्रक्रिया पुनः सञ्चालन गर्ने पहल थालेको हो।
मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन, नेपालस्थित दक्षिण कोरियाली दूतावासले पठाएको कूटनीतिक नोट तथा उच्च अदालत पाटनको आदेशलाई आधार मानेर ई–७ भिसासम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो। उक्त निर्णय मन्त्रीस्तरबाट असार १५ गते भएको मन्त्रालयले जनाएको छ।
निर्णयअनुसार अब दक्षिण कोरियामा ई–७ भिसा मार्फत रोजगारीमा जाने नेपाली श्रमिकको सम्पूर्ण प्रक्रिया वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम सञ्चालन गरिनेछ। यसका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट रोजगारदाताको मागपत्र प्रमाणीकरण गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ।
यससँगै मन्त्रालयले वैदेशिक रोजगार विभाग, ताहाचललाई आवश्यक व्यवस्थापन मिलाई भर्ती प्रक्रियालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएको छ। साथै, निर्णयको जानकारीका लागि दक्षिण कोरियाको सियोलस्थित नेपाली राजदूतावासलाई समेत बोधार्थ पठाइएको मन्त्रालयले जनाएको छ।
सरकारको यो निर्णयसँगै लामो समयदेखि ई–७ भिसामार्फत दक्षिण कोरियामा रोजगारीको अवसरको प्रतीक्षामा रहेका नेपाली सीपयुक्त श्रमिकका लागि प्रक्रिया पुनः अघि बढ्ने छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे