
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी विद्यार्थीमध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा समितिको निर्णयबमोजिम न्यूनतम ४० अंक प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा प्रकाशित गरिएको हो। उक्त छात्रवृत्ति महानगरअन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थाहरूमा अध्ययनका लागि प्रदान गरिनेछ।
प्रकाशित नतिजा अनलाइन आवेदन फाराम भरेको पोर्टलमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमा प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्नेछन्।
महानगरका शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार हाल सार्वजनिक गरिएको नतिजा प्रारम्भिक भएकाले चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्नेछन्। पुनर्योगका लागि एक हजार रुपैयाँ राजस्व दाखिला गरी प्रवेशपत्रको प्रतिलिपिसहित जेठ २० गते कार्यालय समयभित्र शिक्षा विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
परीक्षामा एक जना विद्यार्थीले सर्वाधिक ९२ अंक प्राप्त गरेका छन्। त्यसैगरी, दोस्रो उच्च अंक ९१ प्राप्त गर्ने एक जना विद्यार्थी रहेका छन् भने ९० अंक प्राप्त गर्ने पाँच जना विद्यार्थी तेस्रो स्थानमा रहेका छन्।
महानगरपालिकाले छात्रवृत्ति कार्यक्रमका लागि गत जेठ ३ गते सूचना प्रकाशित गरेको थियो। छात्रवृत्ति छनोट परीक्षा ८३ वटा परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको थियो।
परीक्षाका लागि अनलाइन प्रणालीमार्फत २६ हजार ८८८ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएको महानगरपालिकाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे