
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको भारतसँगको सीमा सम्बन्धी अभिव्यक्तिपछि राजनीति तातिएको छ। विपक्षी दलले आलोचना गरेका छन्। अभिनेता राजेश हमालले पनि सामाजिक सञ्जालमार्फत सीमा बहसमा धारणा राख्दै उक्त भनाइप्रति घुमाउरो रूपमा असहमति जनाएका छन्। नेपालको सीमा सम्बन्धी बहसमा दुई प्रकारका विषय उठाइन्छन्—सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमण। यी दुई कुरा सुन्दा मिल्दाजुल्दा लागे पनि वास्तवमा फरक हुन्।
सीमापार अतिक्रमण प्रायः स्थानीय कारणले हुने समस्या हो। नेपाल–भारतबीच खुला सीमा भएकाले दुवै देशका मानिसहरू वर्षौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएका छन्। कहिलेकाहीँ नदीले आफ्नो धार परिवर्तन गर्दा, सीमा स्तम्भ हराउँदा वा बिग्रँदा, वा बस्ती विस्तार हुँदा सानो–तिनो सीमा विवाद देखिन्छ। यी घटनाहरू योजनाबद्ध नभई प्राकृतिक र स्थानीय परिस्थितिका कारण हुने गर्छन्। यस्ता समस्याको समाधान संवाद, संयुक्त अध्ययन र आपसी सहकार्यबाट गर्न सकिन्छ।
तर राज्य–प्रायोजित भू–अतिक्रमण भने फरक हुन्छ। यसमा कुनै देशको सरकार नै विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुन्छ। सडक बनाउने, सरकारी संरचना खडा गर्ने, सुरक्षा निकाय परिचालन गर्ने वा नक्सा परिवर्तन गर्ने जस्ता काम राज्यकै तहबाट गरिन्छ।
यसको उदाहरणका रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिइन्छ। यस्ता विषयमा राजनीतिक नेतृत्वको निर्णय क्षमता र कूटनीतिक परिपक्वता महत्वपूर्ण हुन्छ। सही नेतृत्व नभएमा देशले गम्भीर चुनौती सामना गर्न सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे