२०८० आश्विन १४, आईतबार
हेटौंडा– गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ रुपैयाँ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।
यसअघि प्रतिबोरा ७४७ रुपैयाँमा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगहरुले बिक्री मूल्य कम गरेकाले मूल्य घटाएको उद्योग प्रशासनले जनाएकोे छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्ने गरी मूल्य तोकिने बताइएको छ ।
हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ७०० र शिवम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ६८० कायम गरी बिक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।
प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६-७७ मा २४ करोड र २०७५-७६ मा १६ करोड घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।
निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुंगा, रातो माटोलगायत कच्चा पदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे