२०८० आश्विन १७, बुधबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (कात्तिक ४ गते) १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समयदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार उसले आगामी कात्तिक ११ गते परिपक्व हुने १० अर्ब बराबरको रिपो बोलकबोलका माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्नेछ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।
बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको सुरुआतमै दुई अंकको ब्याजदर कायम गरेका थिए । त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारण रूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मंगलबार तीनबुँदे निर्देशन जारी गरेको थियो ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्छन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे