
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स ले नेपाल निर्माण व्यवसायी महासंघ का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सम्मान तथा स्वागत गरेको छ । आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल ले पूर्वाधार विकास बिना नेपालमा आयात प्रतिस्थापन सम्भव नभएको उल्लेख गर्दै सरकारले यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
उनले सडक, ऊर्जा, जलस्रोत, सहरी विकास तथा औद्योगिक पूर्वाधारलाई केन्द्रमा राखी दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । निर्माण क्षेत्रमा कार्यरत व्यवसायीले समयमै भुक्तानी नपाउँदा आयोजना प्रभावित हुने गरेको उल्लेख गर्दै उनले सरकारी तलबजस्तै निर्माण व्यवसायीलाई पनि समयमै भुक्तानी सुनिश्चित गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा चेम्बरका बरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा ले आर्थिक विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् । उनले निजी क्षेत्रका समस्या समाधान गर्दै अघि बढे मात्र समग्र अर्थतन्त्र सुदृढ हुने धारणा व्यक्त गरेका छन् ।
यसैबीच महासंघका अध्यक्ष निकोलस पाण्डे ले विकासशील मुलुकका लागि पूर्वाधार नै आर्थिक प्रगतिको आधार भएको उल्लेख गर्दै निर्माण क्षेत्रलाई अझ सशक्त बनाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने बताएका छन् । उनले ढिलो भुक्तानी, जटिल प्रशासनिक प्रक्रिया तथा लागत वृद्धिका समस्याले व्यवसायीमा निराशा बढ्दै गएको उल्लेख गर्दै समाधानका लागि ठोस पहल आवश्यक रहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे