
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टसँग सम्बन्धित विभिन्न स्थानमा छानबिन तीव्र पारिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूको आवासीय परिसर तथा हिमालय पुनर्बीमा कम्पनीको कार्यालयमा छापा मारेर आवश्यक कागजात तथा विवरण संकलन गरेको जनाएको छ।
अग्रवाल शंकर समूहअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुखका रूपमा परिचित छन्। उनीहरू दुवैजना सत्तासँग नजिक रहेका केही राजनीतिक नेतृत्व, पदाधिकारी तथा सरकारी कर्मचारीसँगको पहुँच प्रयोग गरी सार्वजनिक खरिद ठेक्का, जलविद्युत् आयोजना र बैंक तथा बीमा कम्पनीका अनुमतिपत्र प्राप्त गर्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धानको घेरामा परेका छन्।
यस्तै, वार्षिक बजेटमार्फत करका दर आफ्ना हितअनुकूल बनाउने प्रयाससमेत भएको आशंका गरिएको छ। विभागले यस्ता गतिविधि आर्थिक अनियमितता तथा सम्पत्ति शुद्धीकरणसँग जोडिएको हुनसक्ने भन्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउको क्रमअनुसार दीपक भट्ट चैत १९ गते र सुलभ अग्रवाल चैत २१ गते नियन्त्रणमा लिइएका थिए। यसअघि इन्फिनिटी होल्डिङ्स र शंकर समूहबीच भएका शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर अग्रवाल पक्राउ परेका थिए भने त्यसको केही दिनपछि सुलभ अग्रवाल पनि अनुसन्धानको दायरामा आएका हुन्।
विभागले संकलित प्रमाणका आधारमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे