
काठमाडौँ । देशभरका ऐतिहासिक मठ, मन्दिर तथा सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा जग्गा स्वामित्व विवाद प्रमुख चुनौतीका रूपमा देखिएको छ। सम्पदा संरक्षण तथा पुनर्निर्माणको काम पुरातत्त्व विभाग, प्रदेश सरकार र स्थानीय तहबाट भइरहे पनि अधिकांश सम्पदाको जग्गा स्वामित्व गुठी संस्थानअन्तर्गत रहेको पाइएको छ।
गुठी संस्थानको विवरणअनुसार देशभर ६८ जिल्लामा २ हजार ८२ राजगुठीअन्तर्गत मठ, मन्दिर तथा अन्य सांस्कृतिक सम्पदासँग सम्बन्धित गुठी जग्गा रहेको छ। तीमध्ये पहाडी क्षेत्रमा ५ लाख ६१ हजार ९९० रोपनी तथा तराई क्षेत्रमा ६६ हजार ३३० बिघा जग्गा रहेको उल्लेख गरिएको छ।
उपत्यकाभित्र मात्रै १ हजार ११२ गुठीमार्फत जात्रा, पर्व तथा पूजापाठ सञ्चालन हुँदै आएको छ। काठमाडौँमा १ हजार २८२, भक्तपुरमा ३०९ र ललितपुरमा ४२२ गरी उपत्यकाभित्र २ हजार १३ अमूर्त सम्पदासँग सम्बन्धित गतिविधि सञ्चालन भइरहेको देखिएको छ।
यी सम्पदाको सञ्चालन गुठीको आम्दानीबाट हुँदै आए पनि स्थानीय तह, हेरचाह अड्डा, विकास समिति तथा विभिन्न कोषहरूले समेत व्यवस्थापनमा योगदान गर्दै आएका छन्।
तर, पशुपति क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ स्तूपलगायत प्रमुख सम्पदाको जग्गा स्वामित्वलाई लिएर गुठी संस्थान, सम्बन्धित विकास समिति तथा स्थानीय गुठीबीच विवाद कायम रहेको देखिएको छ।
सम्पदा संरक्षणसम्बन्धी कानुनहरूबीच स्पष्ट समन्वय नहुँदा मूर्त तथा अमूर्त सम्पदाको स्वामित्व र व्यवस्थापनमा अन्योल देखिएको छ। गुठी संस्थान ऐन, प्राचीन स्मारक संरक्षण ऐन तथा सम्बन्धित क्षेत्र विकास समितिसम्बन्धी कानुनबीच सामञ्जस्य कायम गरी सम्पदाको स्वामित्व स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
सम्पदाको दीर्घकालीन संरक्षण, व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन कानुनी स्पष्टता, अभिलेखीकरण तथा एकीकृत स्वामित्व व्यवस्थापन आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे