
काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार वैशाख महिनाको तुलनामा जेठमा बैंकहरूको औसत ब्याजदर सामान्य रूपमा घटेको छ ।
व्यक्तिगत निक्षेप (सेभिङ/फिक्स्ड डिपोजिट) मा औसत ब्याजदर ४.४ प्रतिशतबाट घटेर ४.३४३ प्रतिशत पुगेको छ । त्यस्तै, संस्थागत निक्षेपको ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा झरेको छ । अधिकांश बैंकहरूले ब्याजदर यथावत राखेका छन् भने केही बैंकले घटाएका छन् ।
एनएमबि बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै घटाउनेमा एनआईसी एशिया, हिमालयन र नेपाल बैंक छन् । भने सिद्धार्थ बैंकले थोरै वृद्धि गरेको छ ।
संस्थागततर्फ सिटिजन्स बैंकले ब्याजदर बढाएको छ भने कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटाएका छन् । सबैभन्दा बढी व्यक्तिगत ब्याजदर एनएमबि बैंक (४.८ प्रतिशत) र राष्ट्रिय वाणिज्य बैंक (४.७५ प्रतिशत) मा छ । सबैभन्दा कम कुमारी बैंक (३.९६ प्रतिशत) मा देखिएको छ । केही ठूला बैंकहरूले भने वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
ब्याजदरमा भएको यो सामान्य परिवर्तन बजारमा रहेको तरलता र मागअनुसार भएको देखिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे