
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बिमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बिमा ऐन, २०७९ बमोजिम कम्पनीलाई तत्काल नयाँ पुनर्बिमा कारोबार नगर्न निर्देशन दिएको जनाएको हो ।
प्राधिकरणका अनुसार कम्पनीले पुनर्बिमा दाबी भुक्तानीसम्बन्धी दायित्व समयमै पूरा नगरेपछि नियामकीय हस्तक्षेप गरिएको हो । यद्यपि यसअघि स्वीकृत भइसकेका पुनर्बिमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापन कार्य भने कम्पनीले निरन्तर गर्न पाउने व्यवस्था गरिएको छ ।
यसअघि नेपाल बिमा प्राधिकरणले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित पाँच जना उच्च व्यवस्थापन तहका अधिकारीसँग स्पष्टीकरण मागेको थियो । दाबी व्यवस्थापन, वित्तीय दायित्व र कारोबार प्रक्रियासम्बन्धी विषयमा प्राधिकरणले चासो देखाएको बताइएको छ ।
यसैबीच सम्पत्ति शुद्धीकरण विभागले गत फागुन २८ गते प्राधिकरणलाई पत्राचार गर्दै व्यवसायी दीपक भट्टसँग सम्बन्धित लगानी र सेयर खरिद प्रक्रियामाथि अनुसन्धान भइरहेको जानकारी दिएको थियो । विभागले नेपाल पुनर्बिमासहित विभिन्न संस्थाको सेयर खरिदका क्रममा हिमालयन रि इन्स्योरेन्सलगायत संस्थाबाट करिब ४ अर्ब रुपैयाँ दुरुपयोग भएको आशंकामा अनुसन्धान अघि बढाइएको जनाएको छ ।
नियामक निकायको पछिल्लो निर्णयसँगै पुनर्बिमा क्षेत्रमा वित्तीय अनुशासन, दाबी भुक्तानी क्षमता तथा संस्थागत पारदर्शिताबारे नयाँ बहस सुरु भएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे