
काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ भने तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी प्रदेशलगायत हिमाली भू–भागमा सामान्य बदली कायम रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने मधेस प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे