
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभा खारेज गर्ने र संघीय व्यवस्था कमजोर बनाउने निर्णय गरे त्यो देशका लागि ठूलो गल्ती हुने बताएका छन्।
भट्टराईका अनुसार संविधान संशोधन जस्तो महत्वपूर्ण विषयमा सबै राजनीतिक दल, समुदाय र सरोकारवालाबीच व्यापक छलफल र सहमति आवश्यक हुन्छ। सरकार आफैंले संविधान संशोधनका विषयमा अध्ययन गर्न कार्यदल बनाइरहेको अवस्थामा कुनै एक दलले आफ्नो निर्णय अरूमाथि थोपर्न खोजे विश्वासको संकट उत्पन्न हुन सक्ने उनको भनाइ छ।
उनले नेपाल विभिन्न जाति, भाषा, संस्कृति र क्षेत्रीय पहिचान भएको देश भएकाले लामो संघर्ष र सहमतिपछि संघीय व्यवस्था लागू गरिएको स्मरण गराएका छन्। यस्तो अवस्थामा प्रदेश सभा खारेज गर्ने वा संघीय संरचना कमजोर बनाउने प्रयासले जातीय र क्षेत्रीय विवाद बढ्न सक्ने तथा देशमा अशान्ति निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
भट्टराईले अहिले संविधान संशोधनबारे राष्ट्रिय सहमति नबनेसम्म विवादास्पद विषयभन्दा सुशासन, विकास र जनताका दैनिक समस्याको समाधानमा ध्यान केन्द्रित गर्नु नै सबैका लागि बुद्धिमानी हुने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे