
एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्स र मोरक्कोले प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दा मोरक्कोले सह–आयोजक क्यानडामाथि ३–० को सहज जित दर्ता गर्दै अन्तिम आठमा स्थान बनाएको हो।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे निर्णायक बने। उनले पेनाल्टीमार्फत गरेको एकमात्र गोल नै टोलीलाई क्वार्टरफाइनल पुर्याउन पर्याप्त बन्यो। यस जितसँगै फ्रान्सले लगातार पाँचौं विश्वकप खेल जित्दै नयाँ इतिहास रचेको छ। अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
एम्बाप्पेको गोलले फ्रान्सका लागि विश्वकप इतिहासको १५०औँ गोलको कीर्तिमान पनि कायम गर्यो। यससँगै ब्राजिल, जर्मनी र अर्जेन्टिनापछि विश्वकपमा १५० गोल पूरा गर्ने चौथो राष्ट्र बन्न फ्रान्स सफल भएको छ।
व्यक्तिगत रूपमा पनि एम्बाप्पेले थुप्रै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनले विश्वकपका नकआउट चरणमा आफ्नो गोल संख्या ११ पुर्याउँदै ब्राजिलका रोनाल्डोलाई तीन गोलले पछि पारेका छन्। विश्वकपमा उनको कुल गोल संख्या १९ पुगेको छ, जुन सर्वाधिक गोलकर्ता लियोनेल मेस्सीको २० गोलभन्दा केवल एक गोल कम हो।
यस्तै, दुई फरक विश्वकपमा सात वा सोभन्दा बढी गोल गर्ने दोस्रो खेलाडीको कीर्तिमान पनि एम्बाप्पेले कायम गरेका छन्। यसअघि यस्तो उपलब्धि अर्जेन्टिनाका लियोनेल मेस्सीले मात्र हासिल गरेका थिए। साथै, तीन फरक विश्वकपको नकआउट चरणमा तीन वा सोभन्दा बढी गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्ने कीर्तिमान पनि एम्बाप्पेकै नाममा दर्ज भएको छ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्स ले पनि नयाँ इतिहास रचेका छन्। फ्रान्सको प्रशिक्षकका रूपमा उनले विश्वकप नकआउट चरणमा १०औँ जित हासिल गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा धेरै नकआउट खेल जित्ने प्रशिक्षक बने।
उता, मोरक्कोले क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै अफ्रिकी फुटबलमा नयाँ इतिहास रच्यो। अज्जेदिन औनाहीले दुई गोल गर्दा सुफियान रहिमीले एक गोल थपे।
यस जितसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। टोलीका ब्राहिम डियाजले यस विश्वकपमा चौथो असिस्ट गर्दै एकै संस्करणमा चार वा सोभन्दा बढी असिस्ट गर्ने पहिलो अफ्रिकी खेलाडीको कीर्तिमान बनाए।
औनाही पनि विश्वकपको एउटै खेलमा दुई गोल गर्ने तेस्रो मोरक्केली खेलाडी बने भने विश्वकप नकआउट चरणमा दुई गोल गर्ने चौथो अफ्रिकी फुटबलरका रूपमा उनको नाम इतिहासमा दर्ज भएको छ।
रोचक पक्ष के भने मोरक्कोले क्यानडाविरुद्ध केवल पाँच पटक मात्र प्रहार गरेको थियो। पछिल्लो ६० वर्षमा यति कम प्रहार गरेर विश्वकप नकआउट खेल जित्ने यो पहिलो टोली बनेको छ।
विश्वकप इतिहासमा मोरक्कोको यो चौथो नकआउट जित हो। यो उपलब्धि अन्य सबै अफ्रिकी राष्ट्रले विश्वकपमा हासिल गरेका नकआउट जितको संयुक्त संख्यासरह रहेको छ।
अब क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। एकातिर एम्बाप्पेको उत्कृष्ट लय कायम राख्ने चुनौती हुनेछ भने अर्कोतर्फ इतिहास रचिरहेको मोरक्को अर्को सनसनीपूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे