
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले दुई महिनाभित्र नेपाल फर्किने जानकारी सरकारलाई दिएका छन्। उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्र पठाउँदै अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्।
इमेलमा देउवा दम्पतीले आफूहरू स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको र छिट्टै नेपाल फर्किएर अनुसन्धानमा उपस्थित हुने बताएका छन्। उनीहरूले आफूहरू अनुसन्धानबाट भागेको भन्ने गलत धारणा नबनाइदिन पनि आग्रह गरेका छन्।
उनीहरूले कानुनअनुसार पारदर्शी अनुसन्धानबाट आफ्नो निर्दोषिता प्रमाणित गर्न चाहेको उल्लेख गरेका छन्। साथै, आफूहरूलाई पक्राउ गर्न वा नेपाल फर्किन असहज हुने वातावरण नबनाउन पनि अनुरोध गरेका छन्।
देउवा दम्पतीले हाल आफूहरू कुन देशमा छन् भन्ने खुलाएका छैनन्। उनीहरू फागुन १३ गते सिंगापुर गएको र त्यसपछि हङकङमा देखिएको भए पनि हालको स्थानबारे स्पष्ट जानकारी छैन।
इमेलमा सर्वोच्च अदालतको अन्तरिम आदेशको पनि उल्लेख गरिएको छ, जसअनुसार तत्काल कुनै धरपकड नगर्न भनिएको छ। साथै, अनुसन्धानका क्रममा ठोस प्रमाण नभेटिएको र पहिले गरिएको छानबिनले पनि कुनै बहुमूल्य वस्तु फेला नपारेको उनीहरूको दाबी छ।
उनीहरूले आवश्यक परे विभागमा उपस्थित भएर सहयोग गर्न तयार रहेको दोहोर्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे