
काठमाडौँ । सर्वसाधारणलाई गुणस्तरीय औषधि सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको नेपाल औषधि लिमिटेडले आफ्नो उत्पादन क्षमताको पूर्ण उपयोग गर्न नसकेको देखिएको छ। स्वदेशमै औषधिको माग बढिरहेका बेला कम्पनीका अधिकांश उत्पादन लाइन न्यून क्षमतामा सञ्चालन भएका छन् भने केही उत्पादन पूर्ण रूपमा बन्द अवस्थामा रहेका छन्।
२०२९ असोज १ गते स्थापना भएको कम्पनीको अधिकृत तथा जारी पुँजी १५ करोड रुपैयाँ र चुक्ता पुँजी ७ करोड ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीले हाल जीवनजल, सिटामोल, हेमोडायलाइसिस फ्लुइड, फोलिक एसिड ट्याब्लेटलगायतका औषधि उत्पादन गर्दै आएको छ।
उत्पादन क्षमताको तुलनामा सिटामोल उत्पादन ७० दशमलव ५५ प्रतिशत, डिस्टिल्ड वाटर ७३ प्रतिशत, ग्लिसिरिन ४१ दशमलव ६० प्रतिशत, जीवनजल ३५ दशमलव ५४ प्रतिशत, हेमोडायलाइसिस फ्लुइड १४ दशमलव ४७ प्रतिशत, स्यानिटाइजर २ दशमलव ८३ प्रतिशत तथा फोलिक एसिड ५८ दशमलव ४६ प्रतिशतमा सीमित रहेको पाइएको छ।
त्यसैगरी मेट्रोनिडाजोल, सेट्रिजिन तथा आरओ वाटर उत्पादन भने पूर्ण रूपमा शून्य रहेको देखिएको छ। उत्पादन क्षमता उपलब्ध हुँदाहुँदै पनि विभिन्न औषधिको उत्पादन हुन नसक्दा कम्पनीको कार्यक्षमता र व्यवस्थापन प्रभावकारितामाथि प्रश्न उठेको छ।
आर्थिक वर्षभर उत्पादन तथा बिक्री वितरणमा २४ लाख ३५ हजार रुपैयाँ खर्च भएकोमा अवकाशप्राप्त कर्मचारीसहित प्रशासनिक खर्च मात्र ४ करोड १६ लाख रुपैयाँ पुगेको देखिएको छ। यसले उत्पादनमुखी खर्चभन्दा प्रशासनिक व्यय अत्यधिक रहेको संकेत गरेको छ।
मुलुकमा औषधिको माग पूरा गर्न ठूलो परिमाणमा आयात गर्नुपर्ने अवस्था कायम रहँदा सरकारी स्वामित्वको यस कम्पनीले उपलब्ध उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्न नसकेको देखिएको छ। स्वदेशी उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, औषधि आपूर्तिमा आत्मनिर्भरता तथा सार्वजनिक लगानीको प्रभावकारी उपयोग सुनिश्चित गर्न कम्पनीले उत्पादन क्षमता विस्तार र सञ्चालन दक्षतामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे