
काठमाडौं । माछापुच्छ्रे बैंकद्वारा जारी गरिएको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चित अग्राधिकार शेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
बैंकले जारी गरेको प्रतिकित्ता रु. १०० अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर ‘MBLPNP’ संकेतचिन्हअन्तर्गत नेप्सेमा सूचीकृत भएको हो। उक्त शेयरको कुल निष्कासन मूल्य रु. ३ अर्ब रहेको बैंकले जनाएको छ।
नेप्सेमा सूचीकरण प्रक्रिया पूरा भएसँगै उक्त अग्राधिकार शेयर २०८३ जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको छ। अब लगानीकर्ताले नेप्से प्रणालीमार्फत ‘MBLPNP’ संकेतचिन्हमा उक्त शेयर खरिद–बिक्री गर्न सक्नेछन्।
बैंकका अनुसार अग्राधिकार शेयर सूचीकरणले पूँजी बजारमा संस्थागत लगानीका विकल्प विस्तार गर्नुका साथै बैंकको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा छ।
नेपालको पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाले जारी गर्ने वैकल्पिक वित्तीय उपकरणप्रति लगानीकर्ताको आकर्षण बढिरहेका बेला माछापुच्छ्रे बैंकको यो अग्राधिकार शेयर दोस्रो बजारमा प्रवेश गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे