
काठमाडौँ । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा लगाइएको अवरोध अन्ततः हटेको छ । भारतले चिया परीक्षणसम्बन्धी कडा नियम खुकुलो बनाएपछि नेपाली चिया फेरि सहज रूपमा निर्यात हुन सक्ने भएको छ ।
भारतको वाणिज्य मन्त्रालयको निर्देशनपछि भारतीय चिया बोर्डले नयाँ सूचना जारी गर्दै अब भारतभित्र बिक्रीका लागि जाने चियामा अनिवार्य प्रयोगशाला परीक्षण तुरुन्तै गर्न नपर्ने व्यवस्था गरेको छ । यसअघि हरेक खेपको नमुना कोलकातामा परीक्षण गर्नुपर्ने र रिपोर्ट नआएसम्म गाडी रोक्नुपर्ने नियमले निर्यात ठप्प भएको थियो ।
यस कारण करिब २० दिनदेखि नेपाली चिया भारत पठाउन समस्या भएको थियो । किसान, उद्योगी र निर्यातकर्ताहरू ठूलो समस्यामा परेका थिए । तर नयाँ नियमपछि सीमामा रोकिएका चिया पुनः पठाउन सकिने भएको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली ले अब निर्यात सहज हुने बताएका छन् । उनका अनुसार उद्योगीहरू फेरि तयारीमा जुटिसकेका छन् । यस विषयमा नेपाली सांसदहरू निश्कल राई र सुहाङ नेम्वाङ ले पनि संसदमा आवाज उठाउँदै कूटनीतिक पहल गर्न आग्रह गरेका थिए । अब चिया निर्यात पुनः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे