
काठमाडौँ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलमा लाग्ने पल्स समयावधि (रेटेल पल्स ड्युरेसन) परिमार्जन गरेको छ । नयाँ व्यवस्थाअनुसार मोबाइल तथा फोन सेवाबाट अन्तर्राष्ट्रिय कल गर्दा अब ६० सेकेन्डको पल्स दर लागू हुने भएको छ ।
कम्पनीका अनुसार विभिन्न देशका दूरसञ्चार सेवाप्रदायकहरूसँग इन्टरनेसनल एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ प्रयोग गरी कल गर्दा नयाँ दर लागू हुनेछ । यस निर्णयसँगै अन्तर्राष्ट्रिय कलको बिलिङ प्रणालीमा एक मिनेटको पल्स दर कायम हुने व्यवस्था गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिबमोजिम दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार मिति २०८२ फागुन १ गतेको निर्णयअनुसार ५८ देशमा नयाँ पल्स दर लागू गरिएको हो । उक्त व्यवस्था आगामी २०८३ जेठ १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउने छ ।
नयाँ प्रणाली लागू हुने देशहरूमा अमेरिका, भारत, चीन, ब्राजिल, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, न्युजिल्यान्ड, नाइजेरिया, थाइल्यान्डलगायत ५८ देश समावेश छन् । ती देशहरूमा अन्तर्राष्ट्रिय कल गर्दा अब प्रत्येक ६० सेकेन्डको आधारमा शुल्क गणना हुनेछ ।
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कलका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरिएको जानकारीसमेत दिएको छ । सेवा प्रयोगकर्ताले सुरुमा एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कोड र सेवा प्रदायकको नम्बर डायल गरेर कल गर्नुपर्ने व्यवस्था कायम रहनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे