
काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनको सुनहीस्थित श्री जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ। बैंकको सर्दी शाखामार्फत आयोजना गरिएको कार्यक्रममा गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई लक्षित गरी सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सिन्जलीलाई सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत कुल १३८ विद्यार्थीलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ। वितरण गरिएका सामग्रीमा वर्णमाला तथा अंक सम्बन्धी चार्ट, अक्षर तथा शैक्षिक चार्ट, हप्ता र महिनासम्बन्धी जानकारी दिने सामग्री, नर्सरी तहका अध्ययन सामग्री, कापी, पेन्सिल, रङ्गीन पेन्सिल तथा बालबालिकाका लागि खेलमुखी शैक्षिक सामग्री समावेश रहेका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष सिन्जलीले बैंकले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको मनोबल अभिवृद्धि गर्न यस्ता पहल उपयोगी हुने धारणा व्यक्त गरे।
बैंकका क्षेत्र प्रमुख भण्डारीले यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा प्रेरणा थप्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताए। कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे