
काठमाडौँ । देशका विभिन्न विश्वविद्यालयहरूको स्वामित्वमा रहेको ठूलो परिमाणको जग्गा संरक्षण र उपयोगमा गम्भीर कमजोरी देखिएको तथ्य सार्वजनिक भएको छ। उपलब्ध विवरणअनुसार त्रिभुवन विश्वविद्यालय र मातहतका निकायहरूको स्वामित्वमा एक करोड ३१ लाख ३७ हजार वर्गमिटर, भोगाधिकारमा ९ लाख ९९ हजार वर्गमिटर तथा अन्य ६ लाख ५३ हजार वर्गमिटर गरी कुल एक करोड ४७ लाख ८९ हजार वर्गमिटर जग्गा रहेको छ।
यसमध्ये विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरअन्तर्गत ११३ रोपनी जग्गा एक निजी आवासीय विद्यालयलाई १५ वर्षका लागि उपलब्ध गराइएको थियो। तर सम्झौता अवधि सकिँदासमेत उक्त जग्गा खाली नगरिएको देखिएको छ। त्यस्तै बागमती नदी किनाराको १५ रोपनी जग्गा एक संस्थाले भोगचलन गरिरहेको र थप १३ रोपनी जग्गा अन्य दुई संस्थाले प्रयोग गरिरहे पनि विश्वविद्यालयले त्यसबाट कुनै आम्दानी प्राप्त गर्न सकेको छैन।
यसैगरी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत एक क्याम्पसको नाममा रहेको ३८० बिघा जग्गामध्ये करिब ३०० बिघा अतिक्रमणमा परेको देखिएको छ। नेपाल संस्कृत विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसहरूको स्वामित्वमा तराई क्षेत्रमा एक हजार ७१८ बिघा १८ कठ्ठा तथा पहाडी क्षेत्रमा १०२ रोपनी ९ आना जग्गा रहेकोमा ४०८ बिघामा मोही कायम भएको र १२ बिघामा स्वामित्व विवाद कायम रहेको उल्लेख गरिएको छ।
दाङको देउखुरी क्षेत्रको एक हजार ३३६ बिघा र बेलझुण्डी क्षेत्रको ३२६ बिघामध्ये ३५ बिघासहित कुल एक हजार ३७१ बिघा जग्गा लामो समयदेखि अतिक्रमणमा परेको तथ्य पनि बाहिर आएको छ।
विशेषज्ञहरूले विश्वविद्यालयहरूले आफ्नो सम्पत्तिको केन्द्रीय अभिलेख व्यवस्थित राखी सम्बन्धित निकायसँग समन्वय गरेर अतिक्रमण नियन्त्रण, संरक्षण र आयमूलक उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। यसले सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन र आर्थिक स्रोत सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे