
काठमाडौँ । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ४(४) अनुसार सवारी दर्ता तथा नामसारी गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था छ। नियमावलीअनुसार उपनियम ४ बमोजिम इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लाग्ने दस्तुर अनुसूची ६(क) मा तोकिएको छ।
अनुसूचीअनुसार ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ, मझौला तथा साना चारपाङ्ग्रे सवारीका लागि ३ हजार २ सय रुपैयाँ, साना तीनपाङ्ग्रे सवारीका लागि २ हजार ९ सय रुपैयाँ र साना दुईपाङ्ग्रे सवारीका लागि २ हजार ५ सय रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। सवारी दर्ता तथा नवीकरणका क्रममा उक्त दस्तुर असुली हुने व्यवस्था छ।
तर महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८२ अनुसार इम्बोस्ड नम्बर प्लेट जडानका लागि तोकिएको दस्तुर वास्तविक खरिद लागतभन्दा ४४ देखि ६५ प्रतिशतसम्म बढी रहेको देखिएको छ। लागतभन्दा उच्च दरमा दस्तुर निर्धारण गर्दा इम्बोस्ड नम्बर प्लेट जडानबाट प्राप्त हुने लाभ तथा प्रतिफलको सुनिश्चितता हुन नसकेको प्रतिवेदनले औँल्याएको छ।
यसकै कारण कार्यक्रम सुरु भएको करिब १० वर्ष बितिसक्दा पनि जम्मा २ दशमलव ५ प्रतिशत सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको तथ्य सार्वजनिक भएको छ। उच्च शुल्ककै कारण सेवाग्राहीहरू इम्बोस्ड नम्बर प्लेट जडानतर्फ आकर्षित हुन नसकेको निष्कर्ष प्रतिवेदनले निकालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे