
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दामा अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुनेछ।
यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो। जवाफ प्राप्त भएपछि अदालतले सुनुवाइका लागि पेसी तोकेको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित कानुनका विद्यार्थीहरूले दायर गरेको रिटमा महान्यायाधिवक्ताको निर्णय गैरकानुनी र स्वेच्छाचारी भएको दाबी गरिएको छ। उनीहरूले उक्त निर्णय बदर गर्न माग गरेका छन्।
महान्यायाधिवक्ताले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा अदालतमा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने निर्णय गरेकी थिइन्। रिट निवेदकहरूका अनुसार यो कदम मुद्दा फिर्ता लिनुजस्तै हो, जुन कानुनविपरीत भएको उनीहरूको तर्क छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे