
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू तयार रहेको बताएका बेला, प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चा भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले त्यसमा सहभागी नहुने स्पष्ट प्रतिक्रिया दिएका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले सार्वजनिक बहसको प्रस्ताव राखेपछि बालेनले त्यसप्रति कडा टिप्पणी गर्दै असहमति जनाएका हुन्। ओलीको पोस्टमा प्रतिक्रिया दिँदै बालेनले लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।” यस अभिव्यक्तिले उनले पब्लिक डिबेट अस्वीकार गरेको संकेत गरेको छ।
बालेनले आफ्नो प्रतिक्रियामा ओलीप्रति थप गम्भीर आरोपसमेत लगाएका छन्। उनले ओलीलाई ‘आतंककारी’को रूपमा स्वीकार गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ। नेताहरूको घर कहाँ–कहाँ छन् भन्ने तपाईंहरूलाई नै थाहा थियो। २३ गते बच्चाहरू मारिएको आतङ्कवाद लुकाउन २४ गते आगजनी गरिएको हो।”
उनको उक्त टिप्पणीपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ भने सम्भावित प्रधानमन्त्री उम्मेदवारबीचको सार्वजनिक बहसको विषय थप विवादित बनेको छ। बालेनको अभिव्यक्तिले आगामी राजनीतिक बहस र ध्रुवीकरणलाई अझ तीव्र बनाउने संकेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे