
काठमाडौँ। सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने भएका छन्। उनको पार्टी प्रवेश तथा स्वागत कार्यक्रम मंगलबार बिहान ११ बजे आयोजना हुने रास्वपाले जनाएको छ।
पार्टी प्रवेशसँगै खरेल ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएको छ। यसअघि निर्वाचनमा सहभागी हुने विषयमा खुला निर्णय नदिएका खरेलले मनोनयन दर्ता प्रक्रिया सुरु हुनुअघि नै मन्त्री पदबाट राजीनामा दिएका थिए।
भदौ २३ र २४ गते सम्पन्न जेन जेड आन्दोलनपछि निर्वाचन सम्पन्न गराउने मुख्य दायित्वसहित गठन भएको वर्तमान सरकारबाट हालसम्म चार जना मन्त्रीले पद त्याग गरिसकेका छन्। केहीबेर अघि शिक्षामन्त्री महावीर पुनले पनि आफ्नै अभियानलाई निरन्तरता दिन भन्दै पदबाट राजीनामा दिएका छन्।
यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले पद त्याग गरी उज्यालो नेपाल पार्टीको अध्यक्षका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे