
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट सक्रिय राजनीतिमा प्रवेशको औपचारिक घोषणा गरेका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ आज जनकपुरधाम पुगेका छन्। जनकपुरधाम आगमनसँगै बालेनले आज बिहान जानकी मन्दिरमा पूजाआजा तथा आरतीमा सहभागी हुँदै धार्मिक अनुष्ठान सम्पन्न गरेका हुन्।
बालेनसँगै हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका पूर्व स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि जानकी मन्दिरमा पूजाआजा तथा आरतीमा सहभागिता जनाएका थिए। धार्मिक कार्यक्रमपछि बालेन र सिंह मधेस आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको स्मृतिमा हरेक वर्ष मनाइने बलिदानी दिवस कार्यक्रममा सहभागी हुन सिराहाको लहानतर्फ प्रस्थान गरेका छन्।
कार्यक्रमअनुसार बालेनले बिहान ८ बजे लहानस्थित मधेसी सहिद पार्कमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गर्नेछन्। बलिदानी दिवसको कार्यक्रम सम्पन्न गरेपछि उनी पुनः जनकपुरधाम फर्किने कार्यक्रम रहेको छ।
आजै जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘परिवर्तनको उद्घोष सभा’मा बालेन पहिलोपटक पार्टी सभापति रवि लामिछानेसँगै एउटै मञ्चबाट सम्बोधन गर्नेछन्। उक्त सभामा पार्टीका वरिष्ठ नेता डीपी अर्याल, स्वर्णिम वाग्ले, मनिष झासहित १२ जना वक्ताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
यसअघि आइतबार साँझ जनकपुर विमानस्थलमा बालेनलाई पार्टी नेता–कार्यकर्ताले स्वागत गरेका थिए। उनी जनकपुरधामस्थित यात्री होटलमा बसेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे