
काठमाडौँ । आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ। भूकम्पको जोखिम र त्यसबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी दिन संघ, प्रदेश र स्थानीय तहले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।
यस वर्षको मूल समारोह काठमाडौँको खुला मञ्चमा आयोजना हुनेछ। कार्यक्रममा भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनी, सेमिनार, अन्तरक्रिया, सडक नाटक तथा र्यालीजस्ता गतिविधि गरिनेछन्। यस्ता कार्यक्रममार्फत भूकम्प आएमा के गर्ने, कसरी सुरक्षित रहने र क्षति कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जनतालाई सजग गराउने उद्देश्य लिइएको छ।
यस वर्षको नारा “सबै तहका सरकार, सबै नागरिकको तयारीसहित भूकम्प उत्थानशील नेपाल (अबको जिम्मेवारी)” तय गरिएको छ। यो नाराले भूकम्पको जोखिम न्यूनीकरण र तयारी सरकार मात्र होइन, हरेक नागरिकको साझा जिम्मेवारी हो भन्ने सन्देश दिन खोजिएको छ।
वि.सं. १९९० साल माघ २ गते नेपालमा गएको विनाशकारी भूकम्पको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। वि.सं. २०५५ सालदेखि राष्ट्रियस्तरमा मनाउन थालिएको यस दिवसले भूकम्प प्रतिरोधी घर निर्माण, जोखिम कम गर्ने उपाय र आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे