
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू समयअनुसार आफूलाई परिवर्तन र सुधार गर्दै लैजानुपर्ने बताएका छन्। उनले यस्तो परिवर्तनको सुरुवात नेपाली कांग्रेसले गरेको भन्दै सकारात्मक टिप्पणी गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले पुराना राजनीतिक दलहरू अब नयाँ सोच र संरचनामा जानु आवश्यक रहेको बताए। उनका अनुसार लामो समयदेखि लोकतान्त्रिक राजनीति गर्दै आएको नेपाली कांग्रेसले यो प्रक्रिया अघि बढाएर राम्रो उदाहरण प्रस्तुत गरेको छ।
डा. भट्टराईले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई बधाइ पनि दिएका छन्। उनले नवनिर्वाचित सभापति गगनकुमार थापा र उनको टिमलाई सफलतापूर्वक पार्टीको पुनर्संरचना सुरु गरेकोमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।
उनले कांग्रेसको यो कदमले अन्य राजनीतिक दलहरूलाई पनि आफूलाई सुधार र रूपान्तरणतर्फ लैजान प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। साथै, देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र सुधारिएका पुराना दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य बढोस् भन्ने आशा व्यक्त गरेका छन्।
यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने डा. भट्टराईको विश्वास छ। उनले सबै राजनीतिक शक्तिहरूले मिलेर देशको लोकतन्त्र मजबुत बनाउन योगदान दिनुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे