
काठमाडौं। नेपाली कांग्रेसमा एकता कायम गर्न महामन्त्रीद्वयले पेश गरेको आठ बुँदे सहमतिको प्रस्ताव असफल भएको छ। संस्थापन पक्षले निर्वाचन आयोगमा पेश उम्मेदवारको नाममा सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्ने एक बुँदा बाहेक सबै प्रस्ताव अस्वीकार गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पठाएको ‘अन्तिम विकल्प’ प्रस्तावमा नकारात्मक प्रतिक्रिया दिएका छन्। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, “हामीले एउटा बुँदा बाहेक अरू मान्न सक्दैनौं भन्ने स्पष्ट जवाफ पठाइसक्यौं।”
महामन्त्रीद्वयले पेश गरेको आठ बुँदे प्रस्तावमा गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरी चुनावमा जान दिने, सभापति देउवा पार्टीका नियमित कामबाट निस्क्रिय रहने, संसदीय बोर्ड गठन गर्ने, साझा स्वामित्वमा विशेष महाधिवेशन सञ्चालन गर्ने र पाँच सदस्यीय समन्वय संरचना गठन गर्ने विषय समावेश थिए। प्रस्तावमा हाई कमान्डको संरचनामा कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा–शर्मा र वरिष्ठ नेता शेखर कोइरालालाई राख्ने योजना थियो।
तर, संस्थापन पक्षले देउवाले पार्टी नेतृत्वमा कुनै सक्रिय भूमिका नलिनु, संसदीय उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति खड्काको हस्ताक्षर हुने, हाई कमान्ड गठन र गगनको नेतृत्वमा चुनावमा जाने बुँदाहरू अस्वीकार गरेको छ।
यसैबीच, विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र मतदान प्रक्रियामा ढिलाइ भएको छ। सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ भने महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी दर्ता भएको छ। सहमहामन्त्रीमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदायका लागि आठ क्लस्टर छुट्याइएको छ। हालैको असफल सहमति र विवादले विशेष महाधिवेशनको आगामी कार्यक्रम र पार्टीभित्रको एकतामा अनिश्चितता सिर्जना गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे