
काठमाडौँ– आज देशभर विभिन्न कार्यक्रम गरेर १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै छ। विभिन्न युवा संस्था र समूहको पहलमा मनाइँदै आएको यो दिवसले नेपाली पहिचान झल्काउने पोसाकलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाहरूले विगत १३ वर्षदेखि यो दिवस मनाउँदै आएका छन्। दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीजस्ता परम्परागत नेपाली पोसाकलाई विशेष गरी युवापुस्तामाझ लोकप्रिय बनाउने उद्देश्यले विसं २०७० सालदेखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।
दिवसको अवसरमा आज धेरैले नेपाली पोसाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्। हरेक वर्ष जनवरी १ तारिखका दिन मनाइँदै आएको यस अभियानले राष्ट्रिय पोसाकप्रति घट्दै गएको आकर्षणलाई पुनः बढाउन सहयोग पुगेको बताइन्छ।
यसअघि औपचारिक रूपमा राष्ट्रिय पोसाकको प्रचलन हटाइएपछि युवाहरूको स्वस्फूर्त पहलमा यो अभियान सुरु भएको हो। आज राजधानीसहित विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, भेला तथा फोटो सेसनजस्ता गतिविधि आयोजना गरिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे