
काठमाडौं । उपसभामुख ईन्दिरा राना मगरले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेकी छन् । आइतबार संघीय संसद सचिवालयमा आवश्यक प्रक्रिया पूरा गर्दै उनले गाडीको चाबी हस्तान्तरण गरेकी हुन् प्रतिनिधि सभा विघटन नभएको अवस्थामा उपसभामुखसहित सभामुखको कार्यकाल अझै करिब दुई वर्ष बाँकी रहने थियो । तर प्रतिनिधि सभा विघटन भएसँगै संविधानले तोकेको व्यवस्था अनुसार उनको कार्यकाल आज रातिबाट समाप्त हुँदैछ ।
संविधानको धारा ९१ को उपधारा ६ (क) मा प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख प्रतिनिधि सभाको अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज र भोलि समानुपातिक तर्फका उम्मेदवारको सूची बुझाउने कार्यतालिका रहेको छ । दलहरूले समानुपातिक सूची बुझाएपछि उम्मेदवारी दर्ता भएको मानिने भएकाले सोही अनुसार उपसभामुख रानाले आजै सरकारी गाडी प्रयोग नगर्ने निर्णय लिएकी हुन् । उनको यो कदमलाई संवैधानिक मर्यादा र सार्वजनिक उत्तरदायित्वको सम्मानका रूपमा हेरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे