
काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिलाई संकेत गर्दै थप राजनीतिक टिप्पणी गरेका छन्। रवि र बालेनबीच सात बुँदे सहमति सार्वजनिक भएसँगै बास्कोटाले सामाजिक सञ्जालमार्फत ‘अब उज्यालो नेपालका कुलमान घिसिङ र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) मिल्न बाँकी रहेको’ टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “रवि–बालेन मिलेछन्। अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो। त्यो पनि होला झैँ लाग्छ।” उनको यो अभिव्यक्तिलाई समसामयिक राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ।
आइतबार रातिदेखि चलेको लामो छलफलपछि सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आपसी सहकार्य र एकतासम्बन्धी सात बुँदे सहमति भएको थियो। सहमतिमा रास्वपाका सभापति रवि लामिछाने र मेयर शाहले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने उल्लेख छ। यस घटनाक्रमले नेपाली राजनीतिक वृत्तमा नयाँ चर्चा र बहसलाई जन्म दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे