
काठमाडौं । नेपाली निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अग्रसर बनाउने लक्ष्यले ‘नेपाल इन बिजनेस – ग्रोथ एड्भाइजर्स’ (NiB-GA) कार्यक्रम अन्तर्गत एक विशेष ‘राउन्डटेबल’ वार्ता सम्पन्न भएको छ। यसमा सहभागी कार्यक्रमका दस निजी कम्पनीका प्रतिनिधिहरूले आफ्ना व्यवसायिक विस्तार योजना, निर्यात लक्ष्य र दीर्घकालीन विकास आकाङ्क्षा सम्बन्धित राजदूतको उपस्थितिमा प्रस्तुत गरे।
कृषि प्रशोधन, साना उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रका यी कम्पनीहरूले बाह्य बजारमा पुग्ने र टिक्ने रणनीतिबारे आपसमा अनुभव साटासाट गरे। डाइनामिक टेक्नोसफ्ट, हर्भेदा बोटानिकल्स, सिटिटेक, बुद्धमाया गार्डेन्स रिसोर्ट (केजीएच समूह), नेपाल टी सामूहिक लगायत कम्पनीहरू सहभागी भएका थिए। सहभागीहरूले नेपाल इन बिजनेस (NiB-GA) को प्राविधिक सहयोग, बजार पहुँच र सह–लगानी सुविधाले व्यवसायको टिकाऊ वृद्धि, उत्पादन गुणस्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिए।
नेपाल इन बिजनेस (NiB-GA) को मूल उद्देश्य नेपाली निजी क्षेत्रलाई विशेषगरी बेलायतलगायत बाह्य बजारमा निर्यात योग्य बनाउँदै रोजगारी सृजना र लगानी प्रवर्द्धन गर्नु रहेको छ। कार्यक्रम आयोजक पक्षका अनुसार, हालसम्म यसबाट पाँच सय भन्दा बढी रोजगारी सिर्जना भएको छ भने देशमा थप लगानी आकर्षित भएको छ। यो कार्यक्रम सार्वजनिक–निजी साझेदारीको माध्यमबाट नेपाली उद्योगहरूलाई विश्व बजारसँग जोड्ने लक्ष्य लिई आगामी दिनमा थप कम्पनीहरूलाई समेट्दै विस्तार हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे