
काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लामा आफ्नो दूरसञ्चार सेवा विस्तार गर्दै सर्केगाड गाउँपालिका–१ मा 2G र 4G सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा २०८२ भदौ २५ गतेदेखि सुरु भएको हो । नयाँ सेवाबाट वडा नं. १, २, ४, ५ र ६ अन्तर्गतका जीलागाउँ, माझगाउँ, घितागाउँ र नाउलि लगायतका क्षेत्रका सेवाग्राहीहरूले गुणस्तरीय 4G सुविधा उपयोग गर्न थालेका छन् ।
त्यस्तै, चंखेली गाउँपालिका–६ मा पनि नेपाल टेलिकमले भदौ २७ गतेदेखि 2G र 4G सेवा सञ्चालनमा ल्याएको छ । यस विस्तारसँगै वडा नं. ४, ५ र ६ अन्तर्गतका बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ तथा वरपरका बस्तीका बासिन्दाले दूरसञ्चार सेवामा नयाँ सुविधा पाएका छन् ।
नेपाल टेलिकमले ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तारलाई आफ्नो प्रमुख प्राथमिकता मानेर अघि बढाउँदै आएको छ । कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार दुर्गम क्षेत्रमा सञ्चार प्रविधिको पहुँच सुनिश्चित गर्नु टेलिकमको निरन्तर प्राथमिकता हो ।
यस नयाँ विस्तारसँगै हुम्लाका सेवाग्राहीहरू सूचना, शिक्षा, स्वास्थ्य र सामाजिक सञ्जालमा अझ सहज रूपमा पहुँच बनाउन सक्ने भएका छन् । ग्रामीण क्षेत्रमा 4G सेवाको उपलब्धताले डिजिटल नेपाल निर्माण अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे